भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै प्राथमिकता दिनुपर्छ : खेलकुद मन्त्री चौधरी

विहीबार, १७ साउन २०८१, १६ : ३०

काठमाडौँ - युवा  तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमिकता राख्ने बताएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन् । खेलकुद मन्त्रीले भने, "अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ।" उनले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताए ।

यस्तै उनले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र सङ्घमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए । " मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र सङ्घमा सुविधा सम्पन्न छैन ।तर यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ। म यसका लागि पहल गरिरहेको छु।"  उनले भने ।

भलिबल सङ्घलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गरे । उनले भने, "भलिबल राष्ट्रिय खेल भएकाले सङ्घ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल सङ्घका पदाधिकारीहरूसँग समन्वय गरिरहेको  छु।"

 

 

 

विहीबार, १७ साउन २०८१, १६ : ३०

प्रतिक्रिया