काठमाडौँ - अखिल नेपाल फुटबल संघको आयोजनामा एन्फा महिला लिग फुटबल हुने भएको छ ।
उक्त खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ ।प्रतियोगितामा १० टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ । सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुने उनले बताए ।प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडीलाई १ लाख, फेयर प्ले टीमलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०-५० हजार प्रदान गरिने प्रवक्ता शाहले बताए । प्लेयर अफ द म्याचलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशालामा खेलाइनेछ । टिकट दर १०० रुपैयाँ कायम गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।
प्रतिक्रिया