बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा वितरण गरिँदै, कतिले पाउने भए ?

६ बर्ष अगाडि

काठमाडौं– रोकिएको बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई बिहिबारदेखि मुआब्जा  वितरण गर्ने तयारी थालिएको छ ।  गोरखातर्फको साबिकको फुजेल गाविसका ७०२ परिवार र धादिङतर्फ १०७ प्रभावितलाई मुअब्जा वितरण गर्न लागिएको बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिका आयोजना प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।
उनका अनुसार गोरखातर्फ वितरणका लागि १ अर्ब ५० करोड रुपैयाँ निकासा गरिएको छ भने धादिङतर्फ  ४२ करोड निकासा गरिएको छ ।  सबै फाइल तयार भइसकेकाले बिहिबारदेखि रकम वितरण गर्ने तयारी गरिएको उनको भनाई छ । 
उनले भने, ‘मुआब्जा वितरणको लागि प्रभावितहरुको बैंक भौचर भर्ने काम भइरहेको छ, हामी भोलिदेखि बैंक खातामा रकम जम्मा गर्नेगरी तयारी गरिरहेका छौं ।’
चालू आर्थिक वर्ष १० अर्व रुपैयाँ मुआब्जा वितरण गर्ने भनिए पनि विभिन्न कारणले वितरण हुन सकेको थिएन । 
यसअघि नै गोरखा र धादिङका जिल्ला प्रशासन कार्यालयले मुआब्जा लिन आउन सार्वजनिक सूचना जारी गरेपछि गोरखातर्फ दुई हजार एक सय २० र धादिङतर्फ एक हजार दुईसय ५० प्रभावितले निवेदन दिएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया