काठमाडौं- घरेलु मैदानमा हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले रंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहले सबै तयारी पूरा भएको बताउँदै ३ टिम आइसकेको र दुई टिम आउट बाँकी रहेको जानकारी दिए ।
केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्ने उनले जानकारी दिए। यस्तै दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ । ‘दशरथ रंगशाला खेलका लागि तयार छ । खेल्नका लागि राम्रो कन्डिसनमा छ । एन्फाका टुर्नामेन्ट डिरेक्टर सन्जिव मिश्रले भने ।
प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाण्डौ बाइपुग्ने पनि जानकारी गराउदछु।’
प्रतियोगिताको तयारीका लागि २३(सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएकोछ ।
प्रतियोगिताको टिकेटिङ्ग अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समुह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु १००० कायम गरिएको छ। प्रतियोगिताको १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।
लिग र नकआउट चरण गरेर माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सले कूल ८० लाख एन्फालाई प्रदान गर्ने सम्झौंता भएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया