काठमाडौं- नेपालका बैंक तथा वित्तीय संस्थाहरुकोे खराब/निष्क्रिय कर्जा, गैर बैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धि, यसबाट सृजित गम्भीर चुनौती र समाधानका उपयुक्त विकल्पका विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुको व्यापक सहभागितामा ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस विषयक उच्चस्तरीय वृहत छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
नेपाली बैंकिङ क्षेत्र पारदर्शि, गतिशील, सुशासित, जिम्मेवार र संवेदनशील क्षेत्र भएको, अप्ठेरो परिस्थितिलाई समेत सामना गर्दै अगाडि बढिरहेको भएतापनि कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धिले निम्त्याउन सक्ने संभावित संकट र जोखिमलाई समयमै आंकलन र मूल्याङ्कन गरी अगाडि बढ्नु विवेकपूर्ण हुने र बैंकिङ क्षेत्रको दिगो विकास तथा मुलुकको अर्थतन्त्रलाई सबलीकृत बनाउन महत्वपूर्ण सघाउ पुग्ने हुँदा जिम्मेवार संस्थाको हैसियतले सिबिफिनले यस विषयमा अग्रसरता लिएको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले बताए।
कोभिड १९ पछि बैंक तथा वित्तीय संस्थाहरुको निरन्तररुपमा बढ्दै गएको निष्क्रिय कर्जा र गैर बैंकिङ सम्पत्तिको समुचित व्यवस्थापनका लागि उपयुक्त संस्था स्थापनाका विषयमा सिबिफिनले निरन्तररुपमा विषय उठान गर्दै आएको उल्लेख गर्दै उनले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाको विषयमा नीतिगतरुपमा परिकल्पना गरिए तापनि कुनै सार्थक पहल नभइरहेको विषयलाई मध्यनजर गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनार्थ चालेका कदमहरुलाई सार्थकतामा पु¥याउनका लागि कार्यक्रम उपयोगी र पथपर्दशक बन्ने विश्वाससहित आयोजना गरिएको बताए।
सिबिफिनका महानिर्देशक रोशन कोइरालाले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको वर्तमान अवस्था र प्रवृतिवारे जानकारीमूलक कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा छिमेकी मित्र राष्ट्र भारतको एसेट रिकन्स्ट्रक्सन इण्डिया लि. (आरसिल) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक तथा विज्ञ विनायक बहुगुणाले निष्क्रिय कर्जा/गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनका विषयमा प्रचलनमा रहेका अन्तराष्ट्रिय अवधारणा, अभ्यास, पूर्व शर्तहरु, भारतमा गरिएको अभ्यास, वर्तमान अवस्था एवं परिणाम र नेपालले ध्यान दिनुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
विज्ञ बहुगुणाले सम्पत्ति व्यवस्थापन/पुनर्निर्माण कम्पनी स्थापनाको विषय महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय अवस्थामा प्रतिकुल समेत हुने भएकोले त्यसतर्फ विशेषरुपमा सचेत हुनुपर्ने सुझाव व्यक्त गरेका थिए । एसेट रिकन्ट्रक्सन÷सम्पत्ति व्यवस्थापन कम्पनीहरुको सफलता तत् देशको वित्तीय स्थिरता र गतिशिलता, अनुकुल वातावरण र नीति, राजनीतिक प्रतिवद्धता र सहयोग, निष्क्रिय कर्जा÷सम्पत्तिको तथ्याङ्क, तथ्याङ्किय विश्लेषण तथा वर्गिकरण, लगानी, लगानीकर्ता/बजारको अवस्था, अनुकुल न्यायिक वातावरण, नियामकिय सक्षमता, दक्ष जनशक्ति लगायतका विषयहरुमा निर्भर रहने हुँदा उक्त विषयहरुमा विशेष ध्यान दिन सुझाव दिए।
भारतमा यस्ता कम्पनीहरुको शुरुवाती व्यस्थापन तथा संचालनमा केही समस्या देखिएको भएतापनि पछिल्लो अवस्थामा सुखद परिणामहरु देखा परिरहेको उल्लेख गर्दै नेपाली बैंकिङ क्षेत्रले पनि यस विषयमा आवश्यक कदम अगाडि बढाउँदा भविष्य राम्रो हुने र नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिने उल्लेख गरे।
प्रतिक्रिया