भाइटीकाको दिन इन्ड्राइभको लुट धन्दा, नियामक निकाय मौन

सोमबार, १९ कार्तिक २०८१, ०९ : ५०

काठमाडौं- तिहारको भाइटीकाको दिनमा सार्वजनिक यातायातका साधन बन्द हुँदा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने इन्ड्राइभका सवारी साधनले सर्वसाधारणमाथि लुटधन्दा चलाएको गुनासो बढेको छ।

आइतबार भाइटीकाको दिनमा टीका थाप्न उपत्यकाका विभिन्न स्थानमा जाने सर्वसाधारणलाई इन्ड्राइभ एपमा तेब्बर भाडा निर्धारण गरेर लुटधन्दा चलाइएको हो।सर्वसाधारणले नियमित भाडाभन्दा तेब्बर बढीमा यात्रा गर्न बाध्य पार्दा पनि नियामक निकायले कुनै चासो नदिएको गुनासो गरेका छन्।

पठाओ टुटल लगायतका राइडर एपले नियमित भाडादर भन्दा केही बढी मात्रै लिए पनि इन्ड्राइभले भने तेब्बर भाडा लिएको थियो। इन्ड्राइभ एपले भाइटीकाको दिनमा १० किलोमिटरको दुरीमा २५०० सम्मको भाडा देखाउँदा पठाओले १ हजारमात्रै देखाएको थियो। यस्तै सात किमीको दुरीमा इन्ड्राइभले १५०० भाडा दर कायम गर्दा पठाओले ६०० रुपैयाँ र टुटलले ४०० रुपैयाँमात्रै निर्धारण गरेका थिए। 

यसैक्रममा इमाडोलबाट कुपण्डोल आएको समेत ४०० भाडा तिर्न बाध्य भएको यात्रुहरुले सामाजिक सञ्जालमा गुनासो गरेका छन्। जबकी त्यो रुटमा पठाओको भाडादर १५३ मात्रै रहेको छ। भैंसेपाटीबाट बल्खुसम्म यात्रा गर्दा  १२०० सम्म तिर्न बाध्य भएको यात्रुहरुको गुनासो छ।

इन्ड्राइभले अत्यधिक भाडा दर निर्धारण गरेर सर्वसाधारणमाथि ब्रम्हलुट गर्दा पनि यसको नियामक निकाय यातायात व्यवस्था विभागले नियमित भाडादरमा कायम गराउन असमर्थ भएको छ। 

टीकाको दिन अन्य सवारी साधनको अभावले सर्वसाधारण यस्तो चर्को भाडा तिरेर यात्रा गर्न बाध्य भएको यात्रुहरुले गुनासो गरेका छन्। यस प्रकारको लुटधन्दालाई सरकारका कुनै पनि नियामक निकायको ध्यान नजाँदा टिका थाप्न हिँडेका सर्वसाधारण चर्को भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका थिए।

आइतबार टीकाको दिन तेब्बर भाडा लिएको इन्ड्राइभले सोमबार भने पूर्ववत् भाडा दर नै कायम राखेको छ। यसबारेमा प्रतिक्रिया लिन नियामक निकाय यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन।

 

सोमबार, १९ कार्तिक २०८१, ०९ : ५०

प्रतिक्रिया