नेपाल प्रिमियर लिग

दयाहाङ राई विराटनगर किङ्सको नयाँ ब्रान्ड एम्बासडर

आइतबार, ०२ मंसिर २०८१, २० : २२

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

विराटनगर किङ्सले आइतबार पत्रकार सम्मेलनमार्फत अभिनेता दयाहाङलाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो। उक्त कार्यक्रममा विराटनगरका मालिक बैंकटेस मुन्द्रा र नायक दायहाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। उक्त सम्झौता एक वर्षको हुनेछ। ग्लोबल स्टारको छवि बनाएका सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन्। तर उनी ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा उपस्थित थिएनन्।

मुन्द्राले सन्दीप बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको र केही दिनपछि आउने बताए।

मुन्द्राले कोशीमा क्रिकेटको विकासमा सघाउने उद्देश्यले विरानगर किंग्सले काम गरिरहेको बताए। कोशीका पाँच जिल्लामा ट्यालेन्ट हन्ट गरिएको र निकट भविष्यमा एकेडेमी पनि सञ्चालनमा ल्याउने उनको भनाइ छ।

सो अवसरमा अभिनेता दयाहाङ राईले आफ्नै क्षेत्रसमेत रहेको विराटनगरसँग जोडिन पाउँदा धेरै खुसी रहेको उल्लेख गरे।

खेलले धैर्य र अनुशासन सिकाउने भएकाले आफूले नियमित रूपमा पछ्याउँदै आएको बताए। साथै उनले देशको उन्नति र विकासका लागि कला र खेल क्षेत्रमा लगानी लगानी गर्न आवश्यक रहेको औंल्याए।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आएका अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो टोलीमा जोड्दा क्यानका लागि एक जितसरह रहेको बताए। 

विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इलियास, वेस्ट इन्डिजका निकोलस किर्तन र स्कटल्याण्ड क्रिस सोललाई अनुबन्ध गरेको छ। आगामी मंसिर १५ गतेदेखि पुस ६ सम्म हुने एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन्।

आइतबार, ०२ मंसिर २०८१, २० : २२

प्रतिक्रिया