खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा सोही नगरपालिका-७ हलेसीस्थित महादेवस्थान च्याम्पियन बनेको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सामुहिकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा आज साँझ सम्पन्न फाइनल खेलमा पद्म स्पोर्टस क्लब ओखलढुंगालाई ट्राइबेकरमा हराउँदै हलेसी महादेवस्थान च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि ट्राइबेकरमार्फत छिनोफानो गरिएको प्रतियोगितामा हलेसी महादेवस्थानले तीन गोल गर्दा ओखलढुंगाले दुई गोल मात्र गर्न सफल भएको थियो । च्याम्पियन बनेको हलेसी महादेवस्थानले नगद रु एक लाख ११ हजार एक सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेकोे ओखलढुंगाले नगद रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सेमिफाइनलिष्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङ खोटाङले जनही नगद रु २२ हजार दुई सय २२ सहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए । प्रतियोगिता अवधिभरका बेष्ट प्लेयर (उत्कृष्ट खेलाडी) बनेकी हलेसी महादेवस्थानका खेलाडी प्रतीक्षा ठकुरीले नगद रु एक हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । बेष्ट डिफेण्डर हलेसीकै कर्सा ओली, बेष्ट मिडफिल्डर ओखलढुंगाकी खुस्मा राई, हाइ स्कोरर (सर्वाधिक गोलकर्ता) ओखलढुंगाकै सुप्रिया मियाँ, बेष्ट किपर (गोल रक्षक) हलेसीका सुजता तामाङ र बेष्ट कोच (उत्कृष्ट प्रशिक्षक) हलेसीका लोकेन्द्र केसी घोषित भएका छन् ।
विद्यागत पुरस्कार विजेता खेलाडीले जनही रु एक हजार एक सय ११ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टोली र खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले पुरस्कार वितरण गरे । खेलको माध्यमबाट महिलाको शक्ति प्रदर्शन गर्नका लागि नगरपालिकाको आयोजनामा पहिलो पटक सर्वाधिक राशिको खुला महिला फुटबल प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख राईले बताए । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको थियो ।
‘मेरो गोल, लैंगिकहिंसाविरुद्धको बोल’ नारासहित मङ्सिर-८ गतेदेखि सुरु प्रतियोगितामा खोटाङ, भोजपुर र ओखलढुङ्गा गरी १६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा खोटाङकै प्रथम महिला रेफ्री शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुई जना पुरुष रेफ्रीमार्फत खेल सम्पन्न गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
यसैबीच, महिला जनप्रतिनिधिका लागि आयोजित म्युजिकल चियर प्रतियोगितामा उर्मिला विश्वकर्मा प्रथम भएकी छिन् । नगरपालिकाभित्रका १९ जना महिला जनप्रतिनिधि सहभागी प्रतियोगितामा दिक्षा राई द्वितीय र जुना राई तृतीय भएका छन् । म्युजिकल चियर प्रतियोगितामा विजयी जनप्रतिनिधिलाई क्रमशः नगद रु तीन हजार तीन, रु दुई हजार दुई र रु एक हजार एकको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिता उद्घाटन तथा समापनमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।
रासस
प्रतिक्रिया