पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक’ प्रतियोगिता सुरू

बुधबार, १२ मंसिर २०८१, २० : ५४

कास्की- पोखरामा आजदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका-१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । सो दौडमा नेपालसहित १३ देशका ५९ साइक्लिस्टले सहभागिता जनाएको प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, सिंगापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, न्यूजील्याण्डलगायत देशका साइक्लिस्टहरूले प्रतिस्पर्धा गरेका छन् । साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टायाइने शर्माले जानकारी दिए । शर्माका अनुसार सिनियर, जुनियर र महिलातर्फको इभेण्टमा प्रतिस्प्रधा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताए । उनले भने, “पोखराको आर्वामा आयोजित यस प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रियस्तरका साहसी खेलाडीलाई एउटै मञ्चमा ल्याइ साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ ।”

खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्न मन्त्री थापाले आग्रह गरे । पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले आर्वामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले बताए । समुद्री सतहदेखि एक हजार चार सय मिटर उचाइमा रहेको आर्वा–विजयडाँडा हुने माउण्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

बुधबार, १२ मंसिर २०८१, २० : ५४

प्रतिक्रिया