काठमाडौं - एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बङ्गलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जवाद अब्राररले ५९, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाए । नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए । बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले २र२ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया