काठमाडौं- हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिँदा अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।
‘‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरूको मर्मत कार्य अझै भईरहेकै छ” उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने,‘‘ हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगतै पुनः सिमेन्ट उत्पादकको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।” तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ । उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउनुहुँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेकाले छिटै सकिने र त्यस लगतैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । ‘‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन”, अध्यक्ष भण्डारीले भने,‘‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।” थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन, उनको भनाई छ ।
आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
प्रतिक्रिया