नेपाल प्रिमियर लिग

सुदूरपश्चिम रोयल्सकाे पहिलाे खेल, विराटनगर किङ्ससँग भिड्दै

मंगलबार, १८ मंसिर २०८१, ०७ : ०१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने सामने हुँदैछन् । 

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेल सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिमको यो प्रतियोगिताकै पहिलो खेल हो । उता कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ । दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

विराटनगरले आफ्नो पहिलो खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सबाट आठ विकेटको हार ब्यहोरेको थियो ।

जनकपुरविरुद्ध विराटनगरका कुनै पनि ब्याटर चल्न सकेका थिएनन् । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरका लागि न्युजिल्यान्डका पूर्व ओपनर मार्टिन गप्टिलले अर्धशतक र ओमानी खेलाडी अकिब इल्यासले १५ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुरुआती केही ओभर समस्यामा देखिएका गप्टिल ४३ बलमा ५५ बनाएर स्पिनर हर्ष थाकरको शिकार बन्नेका थिए ।

सुदूरपश्चिमविरुद्ध केभिन ओ’ब्रायनको नेतृत्वमा रहेको विराटनगरलाई जित दिलाउन चाहिने भनेको  उत्कृष्ट ब्याटिङ नै हो । 

सुदूरपश्चिम सन्तुलित टोली देखिन्छ। अनुभवी खेलाडी र प्रशिक्षक टोलीलाई लिएर सकारात्मक छ । सबै पक्षमा बलियो भएकाले सुदूरपश्चिमले मैदानमा उच्च प्रदर्शनको अपेक्षा राखेको छ । ‘टोलीमा जुनियर, सिनियर र विदेशी खेलाडीको तालमेल छ। त्यसैले आशा उच्च प्रदर्शनको छ,’ मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षणका दौरान भनेका थिए, ‘तर, यो भनिरहँदा २०-२० मा एउटा ओभरले पनि नतिजामा फरक पार्न सक्छ । हामी त्यसका लागि तयार रहनुपर्छ ।’

अनुभवी खेलाडी विनोद भण्डारी पनि टोलीले मैदानमा देखाउने प्रदर्शनमा विश्वस्त देखिन्छन् । 

सुदूरपश्चिमले एनपिएलका लागि स्कट्ल्यान्डका ब्रेन्डन म्याकमुन, इङ्ल्यान्डका सेफ जैब, न्युजिल्यान्डका स्कट कुग्गेलिजन र युएईका रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ । यसैगरी अलराउन्डर तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ब्याटर आरिफ शेख र बलर अभिनास बोहोरा सुदूरपश्चिमका हेर्नलायक घरेलु खेलाडी हुन् ।

दिनको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

मंगलबार, १८ मंसिर २०८१, ०७ : ०१

प्रतिक्रिया