नेपाल प्रिमियर लिग

सुदूरपश्चिम रोयल्ससँग चितवन राइनोज ३३ रनले विजयी

आइतबार, २३ मंसिर २०८१, १६ : २५

काठमाडौं - नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबार भएको तेह्रौँ भिडन्तमा चितवन राइनोजले बाजी मारेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित भएको हो । एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जित हो । हारसँगै सुदूरपश्चिमले अंकतालिकाको शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.३ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन, सैफ जैबले १८ रन जोडे ।

चितवनका लागि कुशल मल्ल, जान लोफ्टी इटन, अमर रौतेलाले २–२ तथा रिजन ढकालले १ विकेट लिए । टस जितेर ब्याटिङ थालेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।
 

आइतबार, २३ मंसिर २०८१, १६ : २५

प्रतिक्रिया