सामाजिक सुरक्षा कोषको कुल लगानी एक खर्ब माथि

बुधबार, २६ मंसिर २०८१, १० : ४४

काठमाडौं- रोजगारदाता र श्रमिकको सहमतिमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कुल लगानी एक खर्ब रुपैयाँ नाघेको छ ।

 कोषले बैंकमा राखेका निक्षेपसँगै विकास ऋणपत्र, डिबेन्चर, ट्रेजरी बिल्स र म्युचुअल फन्डमार्फत् हालसम्म एक खर्ब तीन अर्ब रुपैयाँ लगानी गरेको छ।

कोषले आठ दशमलव ९७ प्रतिशत वार्षिक व्याजदर लागू गरेर एक अर्ब ९८ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत् लगानी गरेको छ। कोषले प्रत्यक्ष लगानीको सट्टा अप्रत्यक्ष रूपमा लगानी गरिरहेको स्रोतले जनाएको छ। निजी क्षेत्रको जस्तो जोखिम र नाफा लिन नसक्ने स्थिति भएकाले कोषले सरकारको आर्थिक मेरुदण्डको रूपमा अप्रत्यक्ष लगानी गर्न थालेको हो।

कोषले ट्रेजरी बिल्समा पाँच अर्ब ४४ करोड रुपैयाँ, ऋणपत्रमा तीन अर्ब ७१ करोड रुपैयाँ, म्युचुअल फन्डमा ४१ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा ८३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ। साथै, कोषले योगदानकर्तालाई तीन अर्ब ३८ करोड रुपैयाँ कर्जा दिएको छ। ट्रेजरी बिल्समा नौ दशमलव ६२ प्रतिशत, ऋणपत्रमा आठ दशमलव ९७ प्रतिशत, विकास ऋणपत्रमा आठ दशमलव ९७ प्रतिशत र मुद्दती खातामा नौ दशमलव ६९ प्रतिशत व्याजदरको लगानी गरिएको छ। ट्रेजरी बिल्स भने अल्पकालीन सरकारी ऋणपत्र हो, जुन एक वर्ष वा त्यसभन्दा कम अवधिका लागि जारी गरिन्छ।

कोषको लगानी कार्यविधि, २०७७ अनुसार, कोषले विभिन्न प्रकारका लगानी गरिरहेको छ, जसमध्ये विकास ऋणपत्र, डिबेन्चर, ट्रेजरी बिल्स, मुद्दती खाता र म्युचुअल फन्ड प्रमुख छन्। यो कार्यविधिको दफा ३ देखि दफा ८ मा सरकारी ऋणपत्र, मुद्दती निक्षेप, सेयर, डिबेन्चर, म्युचुअल फन्ड र स्थिर सम्पत्तिमा लगानी गर्ने व्यवस्था गरिएको छ।

कोषले अहिले पनि रोजगारदाता र योगदानकर्तालाई सूचीकृत गर्दै आएको छ। 

पछिल्लो समय, कोषमा योगदानकर्ताको संख्या र योगदान रकममा वृद्धि भएको छ। मंसिर दोस्रो सातासम्म, कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ, गत आर्थिक वर्षको सोहि अवधिमा ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो।

बुधबार, २६ मंसिर २०८१, १० : ४४

प्रतिक्रिया