काठमाडौं - काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा आजबाट यातायात आवागमन सहज बनेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेसंगै यातायातको आवागमन सुचारु गरिएको हो । ११ मिटर लामो उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौंको व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो । व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले जानकारी दिए ।
काठमाडौं व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो । प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यस लगत्तै मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले उक्त स्थानको निरीक्षण गरी अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो ।
मन्त्री दाहालको निर्देशन पश्चात पुन साउन २८ गते विज्ञहरूले निरीक्षण गरी भोलिपल्ट नै लागत अनुमान तयार पारि स्वीकृत गरिएको थियो । सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर, ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो ।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट काम सुरु भएको थियो । राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्त्व विभागले समेत चासो देखाएको थियो ।
जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रक्रियाले पनि निर्माण कार्यमा केही ढिलाइ भएको थियो । तर, कात्तिक १ गते पुरातत्त्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो ।
बेमौसमी बाढी, दशैं, पुरातत्त्व विभागसँग सहमति लिनु पर्ने प्रक्रिया लगायतका चुनौती बीच पनि निर्धारित समय भन्दा अघि नै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले जनाएका छन् ।
प्रतिक्रिया