स्टेफनको अर्धशतकमा काठमाडौंको शानदार जित

शनिबार, २९ मंसिर २०८१, १२ : १४

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा  पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौं गुर्खाले सहज जित निकालेको छ ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंका लागि ओपनर स्टेफेन स्किनाजीले सर्वाधिक ६० रनको योगदान दिए । यस्तै, माइकल लेभिटले ३२, जेहार्ड एरास्मसले २५ तथा भीम सार्कीले २२ रन जोडे ।

पोखराका लागि विपिन खत्रीले तीन तथा माइकल लिस्कले एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।

यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । पराजित भएको पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै छ । पोखराको ६ खेलबाट ४ अंक छ ।

शनिबार, २९ मंसिर २०८१, १२ : १४

प्रतिक्रिया