काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिवार भएको दोस्रो खेलमा यसअघि नै प्लेअफमा पुगिसकेको जनकपुरलाई चितवनले ३२ रनले पराजित गरेको हो ।
चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १८ ओभरमा १४८ रन बनाउँदै अलआउट भयो । जनकपुरका लागि जीमी नीशकले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाए पनि जिताउन सकेनन् । १८ बलमै अर्ध शतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्ध शतक बनाउने खेलाडी बने । उनले २४ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो । उसका लागि कप्तान कुशल मल्लले अर्ध शतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक-एक विकेट लिए ।
प्रतिक्रिया