रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

शुक्रबार, ०५ पुस २०८१, १३ : २७

काठमाडौं- केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् ।

स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

 भन्सार कार्यलयका अनुसार सवारीसाधनका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ ।

चालु आव २०८१/८२ को प्रथम चौमासिकअन्तर्गत करिब एक सय २४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाकाबाट अन्यन्तै न्यून माल सामग्री निर्यात हुने गरेको बताइन्छ । प्राप्त विवरणानुसार ऊनीगलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, भाँडामा झ्ने स्टिलउड र काठका सामग्री छन् । आयाततर्फ भने जुत्ताचप्पल, तयारी पोशाक, विद्युतीय सामग्री छन् ।

आयातका साथसाथै गैरकानुनी तवरका व्यक्तिसमेत सल्बलाउन थालेका कारण राजस्व चुहावत नियन्त्रण र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले मितेरी पुलमा २४सै घण्टा पालो पहरा दिइरहेका कारण सीमाक्षेत्र शान्त रहेको स्रोत बताउँछ ।

विसं २०७२ देखि पूर्ण रूपमा चालु भएको रसुवागढी नाकामा सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन सञ्चालनमा निकै असहज बन्दै गएको सवारी चालकहरु बताउँछन् ।सडक सुधारका लागि थोरै खर्चले धेरै काम हुने चालकहरूले सुझाव पनि दिएका छन् ।

शुक्रबार, ०५ पुस २०८१, १३ : २७

प्रतिक्रिया