काठमाडाैं- वर्ष २०२४ लगानीकर्ताका लागि सकारात्मक रह्यो। यो वर्ष नेप्से परिसूचक २४.५३ प्रतिशतले वृद्धि भएको तथ्यले यसलाई प्रमाणित गर्छ। वर्ष २०२३ को अन्त्यमा २,०६८.९० बिन्दुमा रहेको नेप्से परिसूचक २०२४ को अन्त्यसम्म २,५७६.५० बिन्दुमा पुग्यो। यो वृद्धि एक वर्षको अवधिमा ५०७.६० अंकले परिसूचक माथि उठेको संकेत गर्दछ।
साथै, यस वर्ष सबै समूहगत परिसूचकमा सुधार देखियो। १३ वटा समूहगत परिसूचकहरूमध्ये व्यापार समूहले सर्वाधिक प्रगति गरेको छ। यो समूहको परिसूचक एक वर्षको अवधिमा ५८ प्रतिशतले वृद्धि भयो। दोस्रो स्थानमा रहेको फाइनान्स समूहले पनि उत्साहजनक ५७ प्रतिशतको वृद्धि हासिल गर्यो। यद्यपि, सबैभन्दा कम वृद्धि म्युचुअल फण्ड समूहले गरेको हो, जसको परिसूचक ७.२५ प्रतिशतले मात्र उकालो लाग्यो।
२०२४ को जुलाईबाट बजारमा तीव्र वृद्धि देखापर्न थाल्यो। अगस्टको मध्यतिर नेप्से परिसूचकले वर्षकै उच्च विन्दु ३,००० छोएको थियो। यद्यपि, त्यसपछि बजार घट्दो सूचीमा रह्यो। यो अवधिमा बजारले आकर्षक कारोबार रकमसहित गति लिएको भए पनि दीर्घकालीन लगानीकर्ताको अभावले गर्दा वृद्धि लामो समयसम्म टिक्न सकेन। यसले बजारको अस्थिरता र लगानीकर्ताको दिगोपनामा सुधारको खाँचोलाई उजागर गरेको छ।

प्रतिक्रिया