काठमाडौं - होटल संघ नेपालले २०८१ माघ २ गते बुधवार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ (Nepal Hospitality Day 2025) को आयोजना गर्न लागेको जनाएको छ ।
सम्माननीय राष्ट्रपत्तिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस (Nepal Hospitality Day 2024) २०८० माघ २ गते काठमाडौंमा आयोजना भएको थियो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ । होटल क्षेत्रले वर्षे भरी भोगेका अवस्थाहरू र विकासका सम्भावना, चुनौतीहरू तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरू सत्कार दिवसमा प्रस्तुति रहनेछन् ।
यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको Nepal Hotel Yearbook 2025 को विमोचन हुने कार्यक्रम रहेको छ भने सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरूलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरू प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरूलाई सत्कार स्वरूप प्रस्तुत गरिने पनि संघले जनाएको छ ।
उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्षहरू मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ । साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पऱ्याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरिने जनाइएको छ ।
उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गने प्रायोजकहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि होटल संघ नेपालले जनाएको छ । देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारण सभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।
प्रतिक्रिया