काठमाडौं- प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरूको लापर्वाहीले अलपत्र परेको बताइएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रालयका सूचना अधिकारी एवं सिनियर इन्जिनियर प्रवीण कार्कीका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँचरपाँच कालीकोट तथा मुगुका चार / चार आयोजना अलपत्र अवस्थामा छन् । यस्तै, सल्यान र रुकुम पश्चिमका दुई / दुई वटा बहु वर्षीय योजना ठेकेदारको लापर्वाहीका कारण अलपत्र रहेको मन्त्रालयका सूचना अधिकारी एवं सिनियर इन्जिनियर प्रवीण कार्कीले जानकारी दिए । उनका अनुसार जुम्ला र डोल्पामा एक / एक आयोजना अलपत्र अवस्थामा छन् ।
ठेक्का अलपत्र पारेर नागरिकलाई दुख दिनेमा बहालवाला मन्त्री समेत रहेका छन् । ओली सरकारमा उर्जा तथा जलस्रोत राज्यमन्त्री समेत रहेका पूर्णबहादुर तामाङ्गको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ काम पुरा नगर्ने सूचिमा रहेको पाइएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरका १३ वटा सडक निर्माणको जिम्मा पाएको ‘कान्छाराम कन्स्ट्रक्सन’ ले कामै नगरी अलपत्र अवस्थामा सडक निर्माणको काम छोडेको छ । २०७८ भदौ १७ गते कान्छाराम कन्सट्रक्सनले सडक कालोपत्रे गर्ने र त्यसको समयावधि २०७९ फागुन मसान्तसम्मको थियो । समय सकिँदा समेत हालसम्म ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यो निर्माण कम्पनीले मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयसँग रु. १२ करोड ९४ लाख ३६ हजारमा सम्झौता गरेको थियो । अहिलेसम्म वित्तीय प्रगति २५ प्रतिशत मात्रै रहेको छ ।
कालोसूचीमा राख्ने सरकारको तयारी
प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढाले व्यवसायीसँग छलफल गरिरहेको र काम छिटो अगाडि बढाउन निर्देशन दिएको बताएका छन् । उनले समयमै काम सक्नुपर्ने भन्दै केही आयोजनाको ठेक्का सम्झौता थप समेत गरिएको र अझै निर्माणको काममा लापर्वाही भए कालोसूचीमा राख्न बाध्य हुने चेतावनी दिए ।
“हामीले बारम्बार छलफल गरेर निर्देशन पनि दिएका छौँ”, उनले भने, “कतिपय आयोजनाको म्याद थप पनि गरिएको छ, सकारात्मक ढंगले काम समयमै सक्न अन्तिम पटक मौका दिने र अझै पनि नभए कालोसूचीमा राखेर अगाडि बढ्ने तयारी छ ।”
प्रतिक्रिया