काठमाडौं – मलेसियामा जारी आईसीसी यु–१९ महिला टी–ट्वान्टी महिला विश्वकप क्रिकेटमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् ।
त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी, सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई-दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् ।
प्रतिक्रिया