राजगढ फुटबल क्लब झापाले जित्यो भोजपुर गोल्डकप उपाधि

विहीबार, १० माघ २०८१, ०७ : १०

काठमाडाैं- भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा सम्पन्न दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब, झापाले जितेको छ। बुधबार भएको रोमाञ्चक फाइनल खेलमा राजगढले भोजपुरको तिवारीभञ्ज्याङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–3 को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा राजगढका श्याम मुर्मू, बादल तामाङ, हेमन्त लिम्बू र रोजिन कार्कीले गोल गरेका थिए भने तिवारीभञ्ज्याङका सुजन मगर, सौर्य राउत र उमेश कार्कीले मात्र गोल गर्न सके। फाइनल खेलको 'म्यान अफ दी म्याच' राजगढका श्याम मुर्मू घोषित भए।

प्रतियोगिताको विजेता राजगढ फुटबल क्लबले नगद ३ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता तिवारीभञ्ज्याङ फुटबल क्लबले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

विजेता तथा उपविजेतालाई पूर्वमुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई र खेलकुद विकास समितिका पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए।

गत माघ १ गतेदेखि सुरु भएको बृहत् माघी मेला तथा गोल्डकप प्रतियोगितामा १४ वटा टोलीले भाग लिएका थिए। सहभागी टोलीहरूमा नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, प्रदेश प्रहरी कार्यालय विराटनगर, आम्तेक ११ फुटबल क्लब, पौवादुङमा खेलकुद विकास समिति (क), छथर गाउँपालिका तेह्रथुम, कोटकालिका फुटबल क्लब, अरूण गाउँपालिका, राजगढ फुटबल क्लब (बाह्रदर्शी गाउँपालिका झापा), मोर्डन एरा फुटबल एसोसिएसन विराटनगर, तिवारीभञ्ज्याङ फुटबल क्लब, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटबल क्लब, अलस्टार फुटबल क्लब धरान र पौवादुङमा खेलकुद विकास समिति (बी) थिए।

पौवादुङमा गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा सम्पन्न यो प्रतियोगिताले स्थानीय खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। यसले खेलाडीहरूको प्रतिभा उजागर गर्न मात्रै होइन, स्थानीय क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याएको छ।

विहीबार, १० माघ २०८१, ०७ : १०

प्रतिक्रिया