राष्ट्रिय गौरवका आयोजनामा माओवादीको चासो

आइतबार, १३ माघ २०८१, १५ : ३३

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ। पार्टीको अर्थ तथा योजना विभागद्वारा काठमाडौँमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरू सहभागी छन्।  

कार्यक्रममा इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए) ले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थितिः प्रमुख निष्कर्ष र सुझावहरू तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरूस् समस्या र सम्भावित समाधानहरूको पहिचान विषयमा प्रस्तुतिकरण दिनेछन्। 

सो कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरू र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले जानकारी दिए। राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरूको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरूलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे।  

आइतबार, १३ माघ २०८१, १५ : ३३

प्रतिक्रिया