काठमाडाैं- गोरखा जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ। हरमटारी युवा क्लबको आयोजनामा हुने यो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा सञ्चालन हुनेछ।
‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा जिल्लाका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने छ। विसं २०७० देखि सुरु भएको यस प्रतियोगितालाई जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता मानिन्छ।
प्रतियोगितामा विजेता टिमले रु चार लाख नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई पनि रु चार लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १५ हजार, उत्कृष्ट गोलकर्तालाई रु १५ हजार, सबैभन्दा अनुशासित टिमलाई रु ३५ हजार, र उदयमान खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ।
हरमटारी युवा क्लबले जिल्लाभित्र फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित हरेक वर्ष यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस पटक प्रतियोगितामा १६ टिमको सहभागिता रहने अनुमान गरिएको छ। गोरखाली खेलकुदमा नयाँ जोश र उमंग थप्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता फुटबलप्रेमीहरूका लागि विशेष उत्साहको स्रोत बन्नेछ।
प्रतिक्रिया