त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार

शनिबार, १९ माघ २०८१, १५ : ३६

काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डका लागि नानानपत कोनचारोकेले अर्धशतकीय पारी खेलिन् । उनले ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ६० रन बनाइन् । नेपालका लागि मनीषा उपाध्यायले दुई विकेट लिइन् ।

यसअघि नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन् ।

शनिबार, १९ माघ २०८१, १५ : ३६

प्रतिक्रिया