युनिलिभर नेपालको नाफा बढ्यो, कस्तो छ वित्तिय अवस्था ?

शुक्रबार, २५ माघ २०८१, १० : १८

काठमाडौं - युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१\८२ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रदर्शन गर्दै दोहोरो अंकको नाफा वृद्धि हासिल गरेको छ। 

कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो कुल आम्दानी बढाउँदै खर्चमा पनि कटौती गर्न सफल भएको छ, जसका कारण यसको वित्तीय मजबूतीमा सुधार आएको छ। युनिलिभर नेपालले दोस्रो त्रैमासमा खुद नाफा १३।४९ प्रतिशतले वृद्धि गर्दै ४७ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो। 

कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशतले वृद्धि भएर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च १।०९ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल आम्दानी १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ र कुल खर्च १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ थियो।

युनिलिभर नेपालको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने सञ्चिति नाफा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १२३.३४ रुपैयाँले वृद्धि भइ १ हजार ३७२.५७ रुपैयाँ पुगेको छ। साथै, प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ कायम भएको छ। कम्पनीको मूल्य(आम्दानी अनुपात) ४३.२७ गुणा रहेको छ।

शुक्रबार, २५ माघ २०८१, १० : १८

प्रतिक्रिया