काठमाडौं- चालु आर्थिक वर्षको पहिलो छ महिनामा जुम्लामा स्थित पूर्वाधार विकास कार्यालयले ११.३ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ। कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहका अनुसार जिल्लाका मुख्य सडकहरूलाई प्राथमिकतामा राख्दै तीव्ररूपमा निर्माण कार्य अघि बढाइएको छ।
उनले भने, “हाल सञ्चालनमा रहेका १८ वटा सडक निर्माण योजनाका लागि रु १८ लाखदेखि एक करोड ५० लाखसम्म बजेट विनियोजन गरिएको छ।” स्थानीयस्तरका यातायात पूर्वाधारलाई सुदृढ बनाउन निरन्तर प्रयास भइरहेको उनले बताए।
झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरण बजेटमार्फत तातोपानी गाउँपालिका–४ स्थित गिडीदह, सिञ्जा–२ स्थित रनुखाना, हिमा–१ शेरादह, र महादेव मावि रुखेटा खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ। तर, लाम्रोचौर गाडापारी र मसानघाट जिम्री जिउलामा पुल निर्माणका लागि आवश्यक बजेट अभाव रहेको उनले जानकारी गराए।
साथै, तातोपानी, सिञ्जा, र कनकासुन्दरी गाउँपालिकामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मतसम्भार कार्य पनि छिट्टै अघि बढाइने उनले बताए। स्थानीय यातायात पूर्वाधारको सुधारलाई मुख्य लक्ष्य बनाउँदै पूर्वाधार विकास कार्यालयले आगामी दिनमा अझ प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया