दोगडाकेदारमा १० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

आइतबार, २७ माघ २०८१, ०९ : १५

काठमाडाैं- बैतडीकाे दोगडाकेदार गाउँपालिकाको वडा नं. ६, सित्तडमा निर्माण भइरहेको १० शय्याको आधारभूत अस्पताल अब अन्तिम चरणमा पुगेको छ। ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको र छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याइने जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले दिएका छन्।

२०७८ साल जेठ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट र कार्यक्रमअनुसार अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो। निर्धारित लक्ष्यअनुसार यस वर्षको अन्त्यसम्म अस्पताल पूर्ण रूपमा सम्पन्न गरी सञ्चालनमा ल्याइने योजना रहेको छ।

अस्पताल निर्माणको कूल अनुमानित लागत रु १४ करोड ६८ लाख २९ हजार ६६५ रहेको छ। ठेक्का सम्झौताअनुसार रु ८ करोड ५१ लाख ४६ हजार ७३० तोकिएको थियो। हालसम्म रु ७ करोड ८८ लाख ७२ हजार ५१७ निकासा भइसकेको छ भने रु ७ करोड ५१ लाख ९२ हजार ६१७ खर्च भइसकेको छ। आवश्यक सुविधाहरू थप्नका लागि रु २ करोड २२ लाख ४८ हजार ९६८ को अतिरिक्त माग गरिएको छ।

गाउँपालिकाले अस्पताललाई अत्याधुनिक स्वास्थ्य उपकरणहरू प्रदान गर्न पहल गरिरहेको छ। यसै क्रममा डिजिटल एक्स-रे मेसिन (५०० एमए), युएसजी उपकरण (कलर डोप्लर), सीबीसी मेसिन, एनालाइजर, माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) लगायतका आवश्यक उपकरणहरूको सूची स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ।

"नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता" भन्ने मूल नीतिसहित दोगडाकेदार गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। गाउँपालिकाका अध्यक्ष चक्र कार्की भन्छन्, "हाम्रो उद्देश्य प्रत्येक नागरिकलाई गाउँमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम र योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दैछौं।"

यस अस्पतालको उद्घाटनसँगै दोगडाकेदारवासीले आफ्नै गाउँमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्नेछन्। स्थानीय बासिन्दाहरू अब उपचारका लागि टाढा धाउनुपर्ने झन्झटबाट मुक्त हुने कुराले खुशी भएका छन्।

आइतबार, २७ माघ २०८१, ०९ : १५

प्रतिक्रिया