काठमाडौं- सहरका गल्लीहरूमा घाम झन्–झन् टड्कारो हुँदै गएसँगै, ऐतिहासिक धरहराको भव्यता अवलोकन गर्ने समय पनि अब थपिएको छ। पुनःनिर्माणपछि गत मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहरामा बढ्दो पर्यटकको चापलाई ध्यानमा राख्दै यही माघ १५ गतेदेखि अवलोकन समय एक घण्टा थप गरिएको छ।
यसअघि माघ १४ गतेसम्म दिउँसो ३ः१५ बजेसम्म मात्र टिकट वितरण गरिन्थ्यो। अब भने अवलोकन समय लम्ब्याएर ४ः१५ बजेसम्म टिकट काट्न सकिनेछ भने साँझ ५ बजेसम्म धरहराको चुचुरोमा पुगेर काठमाडौं उपत्यकाको अनुपम दृश्यावलोकन गर्न पाइनेछ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका कायममुकायम निर्देशक प्रकाश अर्यालका अनुसार सञ्चालनको तीन महिना नपुग्दै धरहराबाट रु १ करोड ५२ लाख राजस्व संकलन भइसकेको छ।
धरहराले पर्यटकलाई मात्र होइन, इतिहासप्रेमी, विद्यार्थी, ज्येष्ठ नागरिक तथा फोटोग्राफी पारखीहरूलाई समेत आकर्षित गरेको छ। अवलोकनका लागि सामान्य प्रवेश शुल्क प्रतिव्यक्ति रु २०० तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै, सार्क मुलुकका पर्यटकका लागि रु ५०० तथा अन्य अन्तर्राष्ट्रिय पर्यटकका लागि रु १००० शुल्क तोकिएको छ।
धरहरा अवलोकन मात्रै होइन, परिसरभित्र पार्किङ शुल्कसमेत निर्धारण गरिएको छ। चारपांग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपांग्रे सवारीका लागि रु १० तोकिएको छ। साथै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा रु ५००० तथा व्यावसायिक भिडिओ छायांकनका लागि सोही शुल्क लाग्नेछ। फोटोग्राफीका लागि प्रतिघण्टा रु १००० तोकिएको छ।
इतिहासको सुनौलो धरोहर धरहरा पुनःस्थापनापछि पर्यटकको रोजाइमा पर्ने आकर्षक गन्तव्य बन्दै गएको छ। हिजो भग्नावशेषमा परिणत भएको धरहरा आज फेरी एक पटक आफ्नै उचाइमा उभिएर काठमाडौंलाई नियालिरहेको छ। यसको ऐतिहासिक भव्यता र वास्तुकलाले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मोहित पार्दै लैजाने विश्वास लिइएको छ।
प्रतिक्रिया