भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बुधबार, ३० माघ २०८१, १६ : २८

काठमाडौं- भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । 

भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुरको चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

bharataapur

प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा देशको नाम चिनाउन महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

यस्तै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको जानकारी दिइन् । नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदान निर्माणको कार्य तीब्र रुपमा अघि बढेको उनले बताइन् ।

महानगरपालिकाले खेल क्षेत्रको विकासको लागि वर्षेनी छुटाउने बजेटलाई वृद्धि गर्दै लिएर गएको उल्लेख गरिन् । महानगरको आयोजनामा मेयर कप विद्यालयस्तरीय त्रिकेट लिग गौतम बुद्ध क्रिकेट रंगशालामा चलिरहेको र केही दिन अघि उपमेयर कप महिला, पुरुष भलिवल प्रतियोगिता सकिएको बताइन् ।

भरतपुर महानगरपालिका देशका ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेलकुद गतिविधि गर्ने पालिकाको रुपमा सम्मानित भइसकेको छ । प्रतियोगितामा १८ विधाका खेलहरु हुने शिक्षा महाशाखा प्रमुख महेन्द्र सुवासचन्द्र आचार्यले जानकारी दिए ।

प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ८६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा २ हजार ६ सय ६३ जना विद्यार्थीले सहभागिता जनाएका छन् । जसमध्ये १ हजार ५ सय ५७ छात्र र १ हजार ७६ जना छात्रा छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर २० का अध्यक्ष मुक्ति घलेलगायतले मन्तव्य व्यक्त गरेका छन् ।
 

बुधबार, ३० माघ २०८१, १६ : २८

प्रतिक्रिया