काठमाडाैं- पोखरामा सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूको दबदबा कायमै रह्यो। भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजित ४२.१९५ किलोमिटर म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा दौड पूरा गर्दै उपाधि हात पारे। उनले केन्याली धावक जुलियस मुरियाली वाहोमको दुई घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्ड तोड्दै रु पाँच लाखको पुरस्कार जिते।
गत वर्षका विजेता जुलियस मुरियाली दुई सेकेण्डको झिनो अन्तरले पछि पर्दै द्वितीय स्थानमा रहे र रु तीन लाख पुरस्कार पाए। तृतीय स्थान हात पारेका केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा दौड पूरा गरी रु दुई लाख जिते।
नेपाली धावकहरूमा किरणसिंह बोगोटीले चौथो स्थान प्राप्त गरे भने निरोज भट्ट क्षेत्री पाँचौँ, रिखुलालसिंह मगर छैटौँ, दिनेश सिंह बोगोटी सातौँ र केन्याली माइकल माथिया आठौँ भए। उनीहरूले क्रमशः रु ५० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
गण्डकी प्रदेश म्याराथनतर्फ निरोज भट्ट क्षेत्रीले दुई घण्टा ३८ मिनेट २२ सेकेण्डमा दौड पूरा गर्दै प्रथम भए। रिखुलाल मगर, दिनेशसिंह बोगोटी, मीनराशी विक, अशोक बराम, सनम गुरुङ र प्रितम गुरुङ क्रमशः दोस्रोदेखि आठौँ स्थानमा रहेर नगद पुरस्कार जिते।
पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घण्टा ०९ मिनेट ०७ सेकेण्डमा दौड पूरा गर्दै रु ७५ हजार पुरस्कार जिते। नेपाली धावक सन्तोषविक्रम विष्ट द्वितीय भए र रु ५० हजार पुरस्कार पाए।
महिला २१ किमी हाफ म्याराथनमा ओलम्पियन सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दै लगातार दोस्रो जित दर्ता गरिन्। केन्याली स्वारोन जोनोटिक दोस्रो, पुष्पा भण्डारी तेस्रो, आश्मा विक चौथो र द्रोपताकुमारी कठायत पाँचौँ भए। उनीहरूले क्रमशः रु १.५ लाख, १ लाख, ७५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे। म्याराथनको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए।
प्रतिक्रिया