काठमाडाैं- तनहुँ र पाल्पालाई जोड्ने कृष्णमार्गको स्तरोन्नतिका लागि संघीय सरकारले रु १० करोडको बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत उक्त बजेट सुनिश्चित भएसँगै लामो समयदेखि अलपत्र रहेको सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ।
घिरिङ गाउँपालिकाले यो सडकको स्तरोन्नतिका लागि संघीय सरकारसँग माग गरेको थियो। नेकपा (एमाले) राष्ट्रिय सभाका प्रमुख सचेतक भगवती न्यौपानेले बजेट सुनिश्चित भएपछि अब काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।
निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७८ मै रु ४० करोड बजेट छुट्याइएको भए तापनि विभिन्न कारणले सडक निर्माणले पूर्णता पाउन सकेको थिएन। घिरिङ गाउँपालिकाको धेनुङ देउरालीबाट पाल्पाको केलादीघाट जोड्ने यो सडकको २५ किलोमिटर खण्ड अझै अलपत्र छ।
विसं २०७३ वैशाख २३ गते निर्माण कम्पनीसँग सम्झौता भई १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, विभिन्न अवरोधका कारण निर्माण कार्य पूरा हुन सकेन। जिल्ला प्राविधिक कार्यालयमार्फत सुरु गरिएको यो सडक गण्डकी प्रदेश सरकारअन्तर्गत गएपछि पुनः संघीय मातहतमा ल्याइएको थियो।
२५ किलोमिटर कालोपत्रे गर्ने सम्झौताअनुसार रु १० करोड ७६ लाखमा ठेक्का दिइएको थियो। निर्माण कार्य २०७४ साउन २८ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले ७५ प्रतिशत मात्र काम सम्पन्न गरेर रु ७ करोड ६० लाख भुक्तानी लिएको थियो। बाँकी कार्य सम्पन्न नगरी ठेकेदारले क्षतिपूर्ति दाबी गर्दै अदालतमा मुद्दा हालेपछि निर्माण अवरुद्ध भएको थियो।
आर्थिक वर्ष २०७८/७९ यता करोडौँ बजेट विनियोजन भए पनि कानुनी झमेलाका कारण खर्च गर्न नसकिएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो। तर, अहिले स्थानीय समस्या समाधान भइसकेको हुँदा चालु आर्थिक वर्षमा संघीय सरकारले रु १० करोड विनियोजन गरेको छ।
अब नयाँ बजेट कार्यान्वयन भई कृष्णमार्ग स्तरोन्नति तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। स्थानीयवासीलाई लामो प्रतीक्षापछि गुणस्तरीय सडक सुविधा प्राप्त हुने आशा गरिएको छ।
प्रतिक्रिया