काठमाडाैं- पर्सा जिल्लाका साझेदारी वनहरू अतिक्रमणको चपेटामा परेका छन्। डिभिजन वन कार्यालय, पर्साका अनुसार जिल्लाका तीन प्रमुख साझेदारी वनसहित आसपासका क्षेत्र जोड्दा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ। ठोरी, गादीमाई, विन्ध्वासिनी र सबैया साझेदारी वन अतिक्रमणको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ।
डिभिजन वन अधिकृत मञ्जुर अहमदका अनुसार जनसङ्ख्याको वृद्धिसँगै काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा उठाउँदै तस्करहरू सक्रिय भएकाले वन फँडानी तीव्र रुपमा भइरहेको छ। "डिभिजन वन कार्यालयसँग आवश्यक दरबन्दी अनुसारको कर्मचारी छैनन्। सय जनाको दरबन्दी रहे पनि हाल ५३ जना मात्र कार्यरत छन्। सीमित स्रोतसाधनका कारण प्रभावकारी अनुगमन र रेखदेख गर्न हम्मेहम्मे परेको छ," अधिकृत अहमदले बताए।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २०८० को प्रतिवेदन अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी अतिक्रमण ठोरी–४ स्थित बाराहनदी पश्चिम क्षेत्रमा देखिएको छ, जहाँ २०० हेक्टर वनक्षेत्र मिचिएको छ। गादीमाई साझेदारी वनमा १६७.६८ हेक्टर, सखुवाप्रसौनी साझेदारी वनमा ३३.२ हेक्टर, सबैया साझेदारी वनमा २२.२३ हेक्टर तथा विन्ध्वासिनी साझेदारी वनमा १२.६ हेक्टर क्षेत्र अतिक्रमणमा परेको छ।
वन अतिक्रमणको अर्को कारण सार्वजनिक भौतिक संरचना निर्माण पनि हो। विद्यालय, मठमन्दिर, प्रहरी चौकी, सेना ब्यारेक, सडकलगायत पूर्वाधार निर्माणका लागि वनक्षेत्रकै उपयोग गरिएको तथ्य कार्यालयले सार्वजनिक गरेको छ। वन संरक्षणमा सीमित कर्मचारी संख्याले चुनौती थपेको र वन निरीक्षण तथा अनुगमन प्रभावकारी रूपमा हुन नसकेको अधिकारीहरूको भनाइ छ।
वन अधिकृत अहमदका अनुसार वन संरक्षणलाई डिभिजन वन कार्यालयको मात्र जिम्मेवारी भन्ने धारणा बदल्नु आवश्यक छ। "वन जोगाउने काममा सबैको हातेमालो जरुरी छ। स्थानिय तह, समुदाय र सरोकारवालाहरूको सक्रिय सहभागिताले मात्र वन अतिक्रमण रोक्न सकिन्छ," उनले जोड दिए।
पर्सा जिल्लामा हाल ११ हजार ५७५ हेक्टर वनक्षेत्र रहेको छ। यहाँ चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन छन्। साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायतका वनस्पति पाइने यो क्षेत्रको संरक्षण आजको आवश्यकता बनेको छ।
वन अतिक्रमण नियन्त्रणमा स्थानीयवासी, सरकार, सरोकारवाला निकायहरू तथा सुरक्षा संयन्त्रहरू मिलेर सामूहिक अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ। अन्यथा, वन क्षेत्र संरक्षणको लक्ष्य अपूरो नै रहन सक्छ।
प्रतिक्रिया