काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि फागुन ३ गते हिजो आवेदन आह्वान गरेको छ । क्यानले सामाजिक सञ्जालमार्फत् सूचना निकालेर मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो ।
माघमा क्यानका तत्कालीन प्रमुख प्रशिक्षक मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले नयाँ मुख्य प्रशिक्षकको लागि आवेदन खुल्ला गरेको हो । दुई वर्षे कार्यकाल सकिएसँगै क्यानले देसाईसँग सम्झौता नवीकरण नगर्ने बताएको थियो ।
माघ १९ गते क्यानले सामाजिक सञ्जालमार्फत् देसाईलाई सन्देश लेखी विदाई गर्दै धन्यवाद दिएको थियो । देसार्ईले पनि माघ २० गते सामाजिक सञ्जालमा नै क्यान, खेलाडी तथा नेपाली क्रिकेटप्रमीहरुलाई सम्बोधन गरी क्यानको प्रमुख प्रशिक्षकबाट बाहिरिएका थिए ।
मोन्टी देसाईको सम्झौता सकिएपछि नयाँ प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । देसाईको कार्यकाल सकिएको धेरै समयसम्म पनि क्यानले मुख्य प्रशिक्षकको नियुक्तिका लागि आवेदन नखोलेको भनिएपनि क्यानले देसाईले प्रशिक्षण छोडेको समयको ख्याल गरेर नै नयाँ प्रशिक्षकका लागि आवेदन खोलेको उनको भनाई छ ।
देसाई मुख्य प्रशिक्षक भएयता नेपालले एकदिवसीय मान्यता जोगायो भने आइसिसी विश्वकप लिग-टु का १२ मध्ये ११ खेलमा जित निकालेको थियो । त्यतिबेला नेपाली पुरुष टिमको त्यो लगातार जितले क्रिकेट जगत्मा सनसनी मच्चाएको थियो । नियुक्ति भएको दुई महिनामै देसाईको नेतृत्वमा कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालले एकदिवसीय मान्यता चार वर्षका लागि जोगाउन सफल भएको थियो ।
लिग-टुको उत्कृष्ट खेलपछि भएको सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि नेपाली टिमको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालमै आयोजनामा भएको उक्त कपमा नेपाल च्याम्पियन बन्यो । प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भएको थियो ।
एसिया कप खेलेको नेपाली टिमले त्यसपछि विश्वकपको छनोट पार गर्दै दोस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो । गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकप २०२४ मा नेपालले अद्भूत खेल देखायो । समूह चरणमै जित विहीन हुनु परेपनि नेपालले दक्षिण अफ्रिका र बंगलादेशलाई कडा टक्कर दिएको थियो । जसको चर्चा विश्व क्रिकेटमै चुलिएको थियो । २०२४ को विश्वकप नेपाली टिमका हरेक खेलाडीलाई अवसर भएको थियो ।
उत्कृष्ट खेलहरु खेल्दै आएको देसाईको नेतृत्वको टिमको प्रदर्शन २०२४ मा भएको लिग–टुको एकदिवसीय खेलमा पुगेर भने बिग्रन थाले । २०२४ मा खेलिएका लिग-टुका १२ एकदिवसीय खेलमध्ये नेपालले २ खेलमा मात्र जित निकाल्न सक्यो । बाँकी १० मध्ये २ खेल वर्षाका कारण रद्द भएका थिए भने आठ खेलमा नेपालले पराजय भोगेको थियो । लिग–टुको यो संस्करणमा नेपाल पहिलो वर्षको अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा पुगेको छ। यसले लिग-टु मा नेपाललाई चुनौती थपिदिएको छ । टी-२० फम्र्याटमा पनि नेपालको प्रदर्शन अहिले खस्किँदै गएको छ ।
सन् २०२४ को एसिसी प्रिमियर कपमा पनि नेपालको प्रदर्शन खराब भयो । सेमिफाइनलमा पुगेको नेपाल युएईसँग पराजित हुँदा एसिया कपमा पुग्नबाट चुकेको थियो । यो कपमा नेपालको एसिया कपको यात्रा मात्र टुंगिएन तेस्रो स्थानको खेलमा हङकङसँग हारेपछि नेपालले इमर्जिङ एसिया कप समेत गुमायो ।
देसार्ईको कार्यकाल सकिने समयमा टिमको प्रदर्शन खस्किएकोले पनि क्यानले उनीसँगको सम्झौता नवीकरण नगरेको हुन सक्ने कतिपयको बुझाई छ । हाल संघले नयाँ प्रशिक्षकका लागि आगामी फेब्रुअरी २८ सम्म आवेदन दिन सक्ने गरी आह्वान गरेको छ । अबको प्रशिक्षक को हुन्छ र ? भन्ने विषय चासोको विषय बनेको छ ।
अब हुने मुख्य प्रशिक्षकका लागि संघले आवेदन दिन चाहने व्यक्तिसँग ईसिबि वा सिए लेभल ३ वा सोभन्दा माथिको मान्यता प्राप्त प्रमाणपत्र हुनुपर्ने बताएको छ । साथै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पूर्ण सदस्य टिम, प्रथम श्रेणी टिम वा आइसीसी एसोसिएट सदस्य राष्ट्र रहेको टिममा कम्तीमा पाँच वर्षको प्रशिक्षण गरेको अनुभव हुनुपर्ने क्यानले उल्लेख गरेको छ ।
प्रशिक्षकलाई नेपालको क्रिकेट संस्कृति, एक दिवसीय खेलको चक्र तथा एसोसिएट सदस्य राष्ट्रहरूको विकास संरचनाको राम्रो ज्ञान र बुझाइ आवश्यक हुनुपर्ने र प्रशिक्षकले टिमको प्रशिक्षण व्यवस्थापनसँगै खेलाडीहरूको दीर्घकालीन प्रतिभा पहिचान गर्ने तथा विकास योजनामा संलग्न हुनुपर्ने क्यानले आवेदनमा भनेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)मा पारस खड्का सचिव भएपछि संघमा नयाँ नेतृत्वले नयाँ आयाम दिने भन्दै चर्चा भईरहेको थियोे । पारस खड्का सचिवको रुपमा आएपछि संघले २०२४ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलको तालिका सहितको क्यालेन्डर सार्वजानिक गरेको थियो । २०२४ का लागि गत वर्ष जनावरी ४ मा नै क्यालेन्डर सार्वजानिक गरेको संघले यसपटक भने फेब्रुअरीको मध्येसम्म क्यालेन्डर निकालेको छैन । राष्ट्रिय पुरुष टिमका प्रमुख प्रशिक्षक अब को होला ? भन्नेसहित क्यानले क्यालेन्डर सार्वजानिक नगरेको विषयपनि क्रिकेटसँग सरोकार राख्नेहरुको जिज्ञासा बनेको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले २०२५ का लागि संघले क्यालेन्डर किन सार्वजानिक गरेको छैन भन्ने आम गुनासो आउनु स्वाभाविक नै भएको भन्दै चाँडै नै २०२५का लागि क्यालेन्डर सार्वजानिक गर्ने बताए । उनले भने,‘२०२५मा हामीले केही टेस्ट म्याचहरु पनि राख्नका लागि सोचिरहेका छौँ । टेस्ट म्याच हुन्छ कि हुन्न फिक्स हुन बाँकी छ, त्यसलाई क्यालेन्डरमा समावेश गर्न पर्ने भएकाले पनि ढिला भएको हो ।’
क्यालेन्डर सार्वजानिक नभएपनि क्यानले गर्ने कामहरु लगातार भईरहेको भन्दै लामाले हाल पनि संघ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको बताए ।
प्रतिक्रिया