सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु

बुधबार, १४ फागुन २०८१, १० : ५०

काठमाडौं - सूर्य नेपाल गल्फ टुर २०२४\२५ अन्तर्गत पाँचौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तोरण विक्रम शाहीले उत्कृष्ट सुरुवात गरे।

उनले ७-अन्डर ७५ को शानदार स्कोर कार्ड तयार पार्दै निरज तामाङ र सञ्जय लामामाथि ४ स्ट्रोकको अग्रता बनाए। निरज र सञ्जय दुवैले ३-अन्डर ६९ को स्कोर गरे।

दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक बहादुर कार्की समान २-अन्डर ७० को स्कोर गर्दै चौथो स्थानमा छन्। रवि खड्का १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन् भने भूबहादुर गुरुङ, बलभद्र राई र रमेश अधिकारी तथा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर १ एमेच्योर खेलाडी सद्भाव आचार्यसँगै इभन-पार ७२ को स्कोरसहित आठौं स्थानमा छन्।

तोरणले सुरुवात राम्रो गरे। दोस्रो, तेस्रो, पाँचौँ र नवौं होलमा चार बर्डी प्रहार गरे। आठौं होलमा एक सट खेल फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि ब्याक नाइनमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिए। बोगी रहित ब्याक नाइन खेल्ने क्रममा ११औं, १३औं, १५औं र १७औं होलमा चार बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइनमा ४-अन्डर ३२ को प्रदर्शन गरे।

यसअघि लगातार दुई प्रतियोगिता जितेका निरज तामाङले तेस्रो, पाँचौँ र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं होलको बर्डीका विरूद्ध १३औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

यसैगरि सञ्जयले वोगीरहित फ्रन्ट नाइनमा पहिलो, तेस्रो, चौंथो र सातौं होलमा बर्डी प्रहार गर्दै ४-अन्डर ३२ को उत्कृष्ट सुरुवात गरे। ब्याक नाईन भने उनले आशातित प्रदर्शन गर्न सकेनन् र १-ओभर ३७ मा चित्त बुझाए। १०औं होलको वोगी सहित ब्याक नाईन सुरु गरेका सञ्जयले ११औं र १३औं होलमा बर्डी खेल्दै लयमा फर्के। तर १६औं र १८औं होलमा एक-एक सट खेर फाल्दा निरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए।

नेपाल नम्बर १ प्रो भूवन नगरकोटीले पार-३को पाँचौँ होलमा होल-इन-वन गरे पनि पहिलो दिन १-ओभर ७३ को स्कोर गरे। उनी रामे मगर, दीपक मगर र बसन्तराज गुरुङसँगै १२औं स्थानमा छन्।

एमेच्योर तर्फ सद्भाव राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा र बाबु पौडेल भन्दा ३ स्ट्रोक अगाडी रहे। सद्भावले इभन-पार ७२ खेल्दा राहुल र बाबुले ३-ओभर ७५ को कार्ड तयार पारे।

चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योरगरी कुल ३९ गल्फरको सहभागिता रहेको छ। ३६ होलको समाप्तिमा कट लागु हुनेछ। शीर्ष २१ खेलाडीले बाकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार  रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख  र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्।  शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
 

बुधबार, १४ फागुन २०८१, १० : ५०

प्रतिक्रिया