सात महिनामा चार लाख बढी नेपाली विदेशिए, कुन महिनामा कति गए?

बुधबार, १४ फागुन २०८१, १५ : ४६

काठमाडौं - चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा चार लाख ६५ हजार ५०८ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्ममा  चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृत लिएका हुन् । 

त्यसमा दुई लाख ७४ हजार ६२२ जना भने नयाँ श्रम स्वीकृत अर्थात् पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् । बाँकी एक लाख ९० हजार ८८९ जना भने श्रम स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारमा गएको तथ्यांकमा उल्लेख छ । 

चालु आवको मंसिर महिनामा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या उच्च देखिन्छ । उक्त महिनामा ८४ हजार २२६ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ४२ हजार ९०६ जना नेपाली कामदार नयाँ श्रम स्वीकृति लिएका थिए । 

नयाँ श्रम स्वीकृतितर्फ भने माघ महिनामा धेरै नेपाली वैदेशिक रोजगारमा गएका छन् । माघमा ४४ हजार १८३ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । माघमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको कुल संख्या भने ७२ हजार ४४१ रहेको छ । 

विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । 

त्यसमा नयाँ श्रम स्वीकृति लिएर जानेमा साउनमा ३६ हजार ९२८, भदौमा ३९ हजार ५५७, असोजमा ३४ हजार १६९, कात्तिकमा ३६ हजार ८२४, मंसिरमा ४२ हजार ९०६, पुसमा ४० हजार ५५ र माघमा ४४ हजार १८३ जना रहेका छन् ।
 

बुधबार, १४ फागुन २०८१, १५ : ४६

प्रतिक्रिया