नेशनल साईबर ओलम्पियाड–२०८१, को प्लस टु संस्करण भब्यताका साथ सम्पन्न

शनिबार, १७ फागुन २०८१, १० : ३०

काठमाडौं –
नेशनल साईबर ओलम्पियाड–२०८१, प्लस टु संस्करणको पहिलो प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । बिहिवार रसियन हाउस, कमलपोखरीमा प्रतियोगिता सम्पन्न भएको हो ।
जम्मा २४ टिमले प्रतियोगितामा भाग लिएकोमा ४ वटा कलेजका टिम फाइनल चरणमा पुगेका थिए । प्रतियोगितामा प्रथम हुने क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले नगद रु ३०,०००, तिस हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । काठमाडौँ मोडेल कलेजले दोस्रो तथा चौथो र कलेज अफ बिजनेस म्यानेजमेन्टले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने कलेजहरुलाई पनि ट्रफि, मेडल र प्रमाणपत्रसँगै अन्य धेरै उपहारहरुले सम्मान गरीएको छ ।
प्रतियोगितामा काठमाण्डौ उपत्यकाका २४ विद्यालयका माध्यमिक तहका ७२ जना विद्यार्थीहरु प्रत्यक्ष रुपमा सहभागि भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
फागुन ५ गते देखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको उक्त प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा भएको थियो । नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हो । जसमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञान तथासीप अभिवृद्धि गर्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता मार्फत प्रतिस्पर्धा आयोजना गरिन्छ ।

सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी यो आयोजना गरीएको आयोजकले जनाएको छ । यस कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने प्रमुख लक्ष्य रहेको संस्थापक अध्यक्ष श्री लक्ष्मण पोख्रेलले बताए । उनका अनुसार अर्को वर्ष थप परिष्कृत रुपमा सात वटै प्रदेशमा यस्तो प्रतियोगिता सन्चालन हुने छ ।
 

शनिबार, १७ फागुन २०८१, १० : ३०

प्रतिक्रिया