सात महिनामा वीरगञ्ज नाकाबाट रु ८ अर्ब ६८ करोडको धान–चामल आयात

आइतबार, १८ फागुन २०८१, ०९ : ५३

पर्सा – चालु आर्थिक वर्ष (आव) सात महिनामा वीरगञ्ज नाकाबाट रु ८ अर्ब ६८ करोडको २२ करोड ६४ लाख ८ हजार २ सय २९ किलो धान–चामल आयात भएको छ । 
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्यको १३ करोड १८ लाख ५९ हजार ४ सय १६ किलो धान–चामल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।” 
कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु १ अर्ब ३५ करोड मूल्यको  १ करोड ३३ लाख ७४ हजार ८ सय २६ किलो चामल आयात भएको छ ।

 
जबकि गत आवको सोही अवधिमा भने रु १ अर्ब छ करोडको ८१ लाख १७ हजार १ सय ३० किलो चामल आयात भएको थियो । चालु आवको सात महिनामा रु २ अर्ब ९६ करोड मूल्यको ५ करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलो मकै आयात भएको छ ।
जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ । रासस

आइतबार, १८ फागुन २०८१, ०९ : ५३

प्रतिक्रिया