काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका हुन् ।
उक्त पुल निर्माण भएमा काभ्रे र मकवानपुर जिल्लाका यी तीन पालिकालाई एक आपसमा जोड्ने छ । ८ वर्ष अघि नै जिल्ला विकास समिति मकवानपुरबाट महाविर÷शिखर÷तामाकोशी जेभीले ठेक्का पाएको भएपनि हालसम्म पुल निर्माण हुन सकेको छैन् । ठेकेदार कम्पनीले पुल निर्माण कार्य अलपत्र पारेको भन्दै तीनवटै पालिकाका जनप्रतिनिधिहरूको टोली मुख्यमन्त्री लामा र भौतिक पूर्वाधार विकास मन्त्री मास्केलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै पुल निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन मुख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई निर्देशन दिएका थिए । मन्त्री मास्कले आफुले प्रदेशका रूग्ण योजना पहिचान गरि निमार्णमा गति दिने काम गरिरहेको बताउँदै सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताएका छन् ।
उनले रूग्ण योजनामध्ये २९ वटालाई गति दिएको र ३ वटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री मास्केले बागमती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैं फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका ।
खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै, बागमती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन जनमुक्ति मार्ग अन्तरगत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएको थियो ।
सोहि मार्गको पुर्ननिर्माणका लागि अनुरोध गर्दै तिनखुट्टे देवीटार (८.७ किमि) खण्ड २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नहुनुका साथै खानी खोला र पार्वती खोला पुलमा समेत समस्या रहेकाले उक्त आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्नका लागि समेत मुख्यमन्त्री र भौतिक मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया