काठमाडौं- नेपालीहरूले कामको खोजीमा देश छाड्ने क्रम दिनानुदिन बढिरहेको छ । फागुनमा मात्रै काम खोज्दै १०२ देशमा नेपाली पुगेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले फागुनमा मात्र ६८ हजार ९६३ नेपाली कामका लागि १०२ देश पुगेको देखाएको हो ।
फागुनमा वैदेशिक रोजगारीका लागि नेपालीहरू अफ्रिकाको नाइजेरियादेखि द्धन्द्धग्रस्त लेबनान र रुससँगै ल्याटिन अमेरिकी देश चिल्लीसम्म पुगेका छन् । फागुनमा सबैभन्दा धेरै अर्थात् २५ हजार ११७ नेपाली युएई पुगेका छन् । त्यसपछि ११ हजार ६३३ जना साउदी गएका छन् ।
गएको माघमा पनि काम खोज्दै नेपालीहरू १०३ मुलुक पुगेका थिए । माघमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ७२ हजार ४४१ थियो । त्यसअघि मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जना नेपालीले रोजगारी खोज्दै मुलुक छाडेका थिए।
योसँगै चालु आर्थिक वर्षको ८ महिनामा रोजगारीका सिलसिलामा विदेशिने नेपालीको सङ्ख्या सवा ५ लाख नाघेको छ । गत साउनदेखि फागुनसम्ममा कुल ५ लाख ३४ हजार ४७१ नेपाली काम खोज्दै विदेशिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ हजार भन्दा धेरै हो ।
अघिल्लो वर्षको ८ महिनामा ४ लाख ७१ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । यसबाट हाल औसतमा दैनिक २२ सय नेपालीले रोजगारीका लागि देश छाडिरहेको देखिन्छ ।
प्रतिक्रिया