चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारी पत्रमा हस्ताक्षर

बुधबार, २० चैत्र २०८१, १५ : १६

काठमाडौं - नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका  प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरे  । दुई मुलुकबीच  पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सांस्कृतिक प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरूको पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रुपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रवर्द्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरी समझदारी भएको हो । यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधि बढाउन सो सम्झौता महत्त्वपूर्ण भएको अध्यक्ष अग्रवालले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा सहभागी छन् । 

बुधबार, २० चैत्र २०८१, १५ : १६

प्रतिक्रिया