उद्योग मन्त्रालयद्वारा सेवा र विद्युतीय व्यापार सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

सोमबार, २५ चैत्र २०८१, १२ : ११

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  विश्व व्यापार संगठनको सहकार्यमा सेवा व्यापार र विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ।

नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवर्द्धन समग्र आर्थिक एवम् सामाजिक विकासको लागि महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ ।

प्रविधिको विकाससँगै विद्युतीय व्यापार (इ–कमर्स) नेपालमा दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ । विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्धन गर्न विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१ जारी भइसकेको छ ।

नेपाल व्यापार एकीकृत रणनीति, २०८० मा पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवा लगायतका क्षेत्रलाई निर्यात सम्भावना भएका सेवाका रूपमा प्राथमिकता दिइएको छ।

विश्व व्यापार संगठनको सचिवालयबाट आएका विज्ञहरुले कार्यशालामा सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, पछिल्लो विकास क्रम, र नेपालको सेवा व्यापारको अवस्था सम्बन्धमा अभिमुखीकरण प्रदान गरेका थिए।

कार्यशालामा विशेष गरी विश्व व्यापार संगठनमा भइरहेको वार्ता, नेपालको सेवा व्यापारको स्थिति, र विद्युतीय व्यापार नियमनको अन्तर्राष्ट्रिय अभ्यासको बारेमा छलफल गरिएको थियो। यसले नेपालको सेवा र विद्युतीय व्यापारको विकासमा सहयोग पुर्‍याउने विश्वास मन्त्रालयको छ।

उक्त कार्यशालामा विश्व व्यापार संगठनका विज्ञहरु, सरोकारवाला मन्त्रालयका अधिकारी, विभाग र अन्य निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मन्त्रालयले कार्यशालाको परिणामस्वरूप, नेपालको सेवा र विद्युतीय व्यापारको विकासको लागि एकीकृत राष्ट्रिय रणनीति निर्माण गर्दै सरोकारवाला सबै निकायको सामूहिक प्रयासमा अगाडि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सोमबार, २५ चैत्र २०८१, १२ : ११

प्रतिक्रिया