भक्तपुरमा वन मिचेर प्लटिङ गरेपछि स्थानीय आक्रोशित

बुधबार, १७ बैशाख २०८२, १० : ३२

काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीको जंगल क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चलेपछि स्थानीयले विरोध गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा वनस्थित घिसिङ डाँडामा डोजर चलाइएको हो । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरेको बताइएको छ ।

bhaktapur 1

डोजर तथा स्काईभेटर चलाएर सामुदायिक भित्री वनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ बितेको छ । सम्बन्धित निकायले वेवास्ता गरिरहेको स्थानीयहरु बताउँछन् । वन क्षेत्रमा रहेको स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पँधेरा, कुलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट वञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध भएको स्थानीयले बताए ।

उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ टोलसहित त्यहाँभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । 

स्थानीय जनताको सहमतिविना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर स्थानान्तरण गर्न बाध्य पारेको भन्दै स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ, सानो तामाङ रहेका छन् ।

वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसकेका छन् । 

bhaktapur

यो ठाउँ अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगा झोलुंगे पुलबाट सिधै माथिको जंगैलैजंगलको बाटो भएर करिब १० किलोमिटर माथि पर्दछ । सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् ।

बुधबार, १७ बैशाख २०८२, १० : ३२

प्रतिक्रिया