विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक वृद्धि, १७ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकको निष्कर्ष

सोमबार, २९ बैशाख २०८२, १० : ४१

काठमाडौं- नेपालमा विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा वृद्धि भई २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणअनुसार चालु आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म विदेशी मुद्राको सञ्चिति अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले वृद्धि भएको हो।

२०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकोमा त्यसको तुलनामा उल्लेख्य वृद्धि देखिएको छ। अमेरिकी डलरमा हेर्दा, सञ्चिति १५ अर्ब २७ करोडबाट बढेर १७ अर्ब ६३ करोड पुगेको छ, जुन १५.४ प्रतिशत वृद्धि हो।

राष्ट्र बैंकका अनुसार कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको विदेशी मुद्राको हिस्सा पनि बढेको छ। असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेको सञ्चिति चैत मसान्तसम्ममा १५.६ प्रतिशतले बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको हो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चिति पनि २ खर्ब ९० अर्ब ३८ करोड पुगेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा यो संख्या ५०.८ प्रतिशतले कम हो।

चैत मसान्तको तथ्यांक अनुसार, कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनाको वस्तु तथा सेवा आयातको सन्दर्भमा मूल्यांकन गर्दा, यो सञ्चिति १७.१ महिनासम्मको वस्तु आयात र १४.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको निष्कर्ष छ।

सोमबार, २९ बैशाख २०८२, १० : ४१

प्रतिक्रिया