पानीका स्रोतहरु सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार

सोमबार, २९ बैशाख २०८२, १५ : ४३

काठमाडौं- महोत्तरीमा पानीको हाहाकार बढेको छ । जिल्लाका गौशाला, बर्दिबास र भंगाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो । खानेपानीका स्रोतहरु खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन् ।

खोल्साखोल्सी र नदीको पानी संग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ । पानीको संकटले सर्वसाधारण हैरान छन् । बर्दिबासका १४ मध्ये १० वटा वडा पूर्ण रुपले संग्रह गरेर धाराबाट वितरण गरिने पानीमा आश्रित छन् । यहाँका चार वडामा इनार बढी प्रयोगमा छन् । बर्दिबास–१२ का दुई/तीनवटा बस्तीमा चापाकल छन् ।

“हेर्नोस् न, धारा त चल्नै छाड्यो, अब के गर्ने होला ?”, बर्दिबास–२ बँदेलखाडीकी गृहिणी पवित्रा खड्का भन्छिन्, “यो गर्मीमा सास कसरी अल्झाउने ?” पछिल्ला केही सातायता धाराबाट कतिखेर पानी झर्छ भनेर रातरातभर कुरेर बिताइएको खड्काको भनाइ छ । 

बर्दिबास–१२ को जुडी, बर्दिबास–१ को पानीखोल्सी, शिरखोला एवं भंगाहा–४ का कदमखाडी, जोकाहा र भुताहा जरुवा पानीको ठाउँमा टल्कने बालुवा मात्रै देखिन्छ । बर्दिबास र गौशालाका दक्षिणी भेग भंगाहाका इनारमा अब डोल नै डुब्न छाडेका छन् ।  

गौशालाका ६, ७ र ९ नम्बर वडाबस्तीका आर्टिजन बोरिङ ९पानी बगी रहने० मा पानी झर्न छाडेको गौशाला–९ डुमरवानाका शिवशरण राय बताउछन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गए पनि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भंगाहा र गौशाला नगर क्षेत्रमा भने बढी हाहाकार भएको हो । 

अहिले पुरानो चारकोसे झाडी वन क्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्ती पसेका छन् । पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरी दिँदा किसान दोहोरो मारमा परेका छन् ।

नयाँ वर्षसँगै वैशाखको पहिलो सातामा दुईपटक पानी परे पनि त्यसयताको प्रचण्ड रापले मुहान रसाउन नसकेका बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी बताउछन् । पछिल्ला चार(पाँच दिनयता बिहान ११ देखि साँझ चार बजेसम्म सधैँजसो तापक्रम ४० डिग्री सेल्सियसको सेरोफेरोमा रहँदा बजार चहलपहल र हिडडुल निकै पातलिएको छ । -रासस

सोमबार, २९ बैशाख २०८२, १५ : ४३

प्रतिक्रिया