सोनापुर मिनरल्स एन्ड आयलको व्यापारसँगै आम्दानी बढ्यो, कम्पनी भने अझै घाटामै

मंगलबार, ३० बैशाख २०८२, १२ : १९

काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। यद्यपि, यो घाटा अघिल्लो वर्षको तुलनामा कम हो। गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीको आम्दानी भने उल्लेख्य रूपमा वृद्धि भएको छ। बिक्रीबाट प्राप्त आम्दानी १ अर्ब १७ करोड रुपैयाँबाट बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन झण्डै ५० प्रतिशतको वृद्धि हो। आम्दानी वृद्धि भएकाले घाटा घट्न मद्दत पुगेको कम्पनीले जनाएको छ।

यद्यपि, वित्तीय खर्च भने बढेको देखिन्छ। अघिल्लो वर्षको २० करोड १९ लाख रुपैयाँ खर्च बढेर यो वर्ष २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

सोनापुरको चुक्ता पुँजी हाल ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

हाल कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ऋणात्मक २.४७ रुपैयाँ छ भने प्रतिकित्ता नेटवर्थ १८५.८६ रुपैयाँ रहेको छ।
 

मंगलबार, ३० बैशाख २०८२, १२ : १९

प्रतिक्रिया