काठमाडौं- चितवनको भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् ।
उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताईन् । उनका अनुसार पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ । राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने दाहालको विश्वास रहेको छ ।
बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्र्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ । भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल ईन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुने जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुराउने उल्लेख गरे। यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आर्कषक पार्क निर्माण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर–१२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया