काठमाडौं- मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भने, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै संख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।”
निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र आज सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिए ।
फोटोपत्रकार पूर्णिमा पाँचौं पटक चुचुरोमा
फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गरेकी छन् । श्रेष्ठले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ । श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । विभागको तथ्यांकअनुसार वसन्त ऋतुमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । -रासस
प्रतिक्रिया