सूर्य नेपाल च्यालेन्ज सुरु, शुक्र र भुवन शीर्षस्थानमा

बुधबार, ०७ जेठ २०८२, १० : ५२

काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन कुमार रोक्का संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्।

पार-६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले आज ७-अन्डर ६१ को उत्कृष्ट स्कोर बनाए। उनीहरूले दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे। तेस्रो स्थानमा रहेका दिनेशले ४-अन्डर ६४ को स्कोर जोडे। नेपाल नम्बर एक भुवन नगरकोटी ३-अन्डर ६५ सहित चौथो र रामे मगर २-अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा रहेका छन्। १-अन्डर ६७ को स्कोरमा प्रदीप कुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडे।

चोटमुक्त भएर करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरे। बोगी रहित कार्ड बनाउने क्रममा तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। ब्याक नाइनमा सानदार प्रदर्शनका साथ १०औं र ११औं‌ तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे। कुल ५ बर्डीले ब्याक नाइन ५-अन्डर २९ मा पुरा गरे।

भुवन कुमार रोक्काले प्रभावशाली प्रदर्शनकासाथ फ्रन्ट नाइनमा ५-अन्डर २९ को नतिजा निकाले। उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको सफलता गरे। यसपछि १०औं, १३औं र १४औं होलमा एक-एक सट बचाए। १६औं‌ होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।

एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन-पार ६८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले बलराम पौडेल र निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। बलराम र निश्चयले १-ओभर ६९ स्कोर गरे। ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन्। साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन्। चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो-एम प्रतिस्पर्धा हुनेछ

बुधबार, ०७ जेठ २०८२, १० : ५२

प्रतिक्रिया